बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको भन्दै प्रक्रिया अघि नबढाई पद त्याग गर्ने घोषणा गरेका हुन् ।
प्रदेशसभामा आफ्नो सरकारका पक्षमा बहुमत जुट्न नसकेपछि राजीनामा दिने निर्णय गरेको उनले बताए । प्रदेशमा थप राजनीतिक अस्थिरता निम्तिन नदिन नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफूले पद छाड्न लागेको उनको भनाइ थियो ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्रै देखिएका थिए ।
बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक भए पनि त्यो जुटाउन नसकेपछि उनले विश्वासको मतको सामना नगरी राजीनामाको बाटो रोजेका हुन् ।
गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले आफ्ना ६ मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसयता प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने प्रयास हुँदै आएका थिए ।
एमाले र नेकपाबीच नयाँ गठबन्धन बने पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत अझै स्पष्ट भइसकेको छैन ।
संविधान अनुसार सत्ता साझेदारले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, बहुमत सुनिश्चित हुन नसकेपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिनुको सट्टा राजीनामा घोषणा गरेका हुन्।
अब बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। तर नयाँ सरकारका लागि आवश्यक बहुमत कसले जुटाउँछ भन्ने विषयले प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।